६ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेश प्रदेश सभापति ममता शर्माले पार्टीभित्र आर्थिक अनियमितता र निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन्। उनले साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेकी हुन्।
संस्थापक सभापतिसमेत रहेकी शर्माले विज्ञप्ति जारी गर्दै पार्टीका पछिल्ला निर्णयहरू आर्थिक प्रभाव र स्वार्थद्वारा निर्देशित भएको दाबी गरेकी छन्। “इमान्दारिताको कदर नहुने र आर्थिक अनियमितता मौलाउने अवस्थाले आफूलाई निराश बनाएको” उनको भनाइ छ। उनले पार्टीभित्र सुधारको अपेक्षा राख्दा समेत सुनुवाइ नभएको उल्लेख गरेकी छन्।
उनको राजीनामाले मधेश प्रदेशमा रास्वपाको संगठनात्मक संरचनामा प्रत्यक्ष प्रभाव पार्ने आकलन गरिएको छ। पछिल्लो समय मधेशमा संगठन विस्तारमा सक्रिय रहेकी शर्माको बाहिरिनुले आगामी निर्वाचन रणनीतिमा चुनौती थपिने विश्लेषण गरिएको छ।
यसै सन्दर्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेशमा पार्टीको प्रभाव विस्तारका लागि गरेका पहलहरूमा समेत असर पर्ने देखिएको छ। मधेशमा ‘घण्टी’ चुनाव चिन्हको मत वृद्धि गर्ने अभियानलाई शर्माको बहिर्गमनले धक्का पुर्याउने राजनीतिक विश्लेषकहरूको मत छ।
उता, बालेन्द्र शाहमाथि समेत विभिन्न आलोचना दोहोरिएका छन्। उनी झापा पुगेको क्रममा काठमाडौं महानगरपालिकामा मेयर हुँदा फोहोर व्यवस्थापनमा असफल भएको विषयमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। विदेशी चलखेलका कारण फोहोर व्यवस्थापनमा समस्या आएको भन्ने उनको भनाइलाई केहीले आधारहीन ठहर गरेका छन्। साथै, मेयरको कार्यकालमा कवाड व्यवसायी र मजदुरमाथि दुर्व्यवहार गरेको तथा डोजर प्रयोग गरी उठिबास लगाएको आरोप पनि पुनः चर्चामा आएको छ।
रास्वपाले भने ममता शर्माको आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। पार्टीभित्र उत्पन्न यस विवादले मधेशको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ।

















