रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन कार्यतालिका सार्वजनिक हुने

२७ बैशाख , काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा महाधिवेशन केन्द्रित विभिन्न विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीको पहिलो महाधिवेशनअन्तर्गत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ। केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेपछि पार्टी महाधिवेशनको तयारीमा केन्द्रित भएको हो।
रास्वपाले पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ। २०७९ असार ७ गते स्थापना भएको पार्टीको महाधिवेशन विभिन्न मितिमा गर्ने निर्णय भए पनि पटक–पटक स्थगित हुँदै आएको थियो।
बैठकमा पार्टीका तहगत समितिको भेला, अधिवेशनहरूको विशेष कार्यतालिका तथा संगठन विस्तारका विषयमा पनि छलफल हुने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन्।
त्यस्तै आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटनसम्बन्धी विषयमा समेत सचिवालय बैठकमा छलफल हुने जनाइएको छ।
सचिवालय बैठकले अनुशासनात्मक कारबाहीका विषयमा पनि निर्णय लिन सक्ने बताइएको छ। पछिल्लो समय केही सांसद तथा नेताहरूको भूमिकामाथि प्रश्न उठिरहेको अवस्थामा सामाजिक सञ्जालमा हुने अभिव्यक्तिलाई लिएर पनि पार्टीभित्र छलफल हुने तयारी छ।
यसैगरी बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति समेत तय गर्ने कार्यसूची राखेको छ।

  • सम्बन्धित समाचारहरु

    मोदीसँगको भेट फलदायी, विकास कूटनीतिको नयाँ युगमा सहमति : रवि

    Read more

    पार्टीको नेतृत्व नछोड्ने ओलीको घोषणा, ‘बीचमै झोला फ्याकेर भाग्दिनँ’

    Read more