२७ बैशाख , काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गर्न पुनः अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखा एनसीबी काठमाडौंमार्फत यसअघि पनि देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारीका लागि अनुरोध पठाइएको थियो। तर, इन्टरपोल महासचिवालयले आवश्यक थप विवरण माग्दै तत्काल ‘रेड नोटिस’ जारी गर्न नसकिने जानकारी गराएको थियो।
प्रहरी स्रोतका अनुसार इन्टरपोलले उठाएका प्रश्नहरूको जवाफ तथा थप विवरण समेटेर बिहीबार पुनः महासचिवालयलाई पत्राचार गरिएको हो।
उच्च प्रहरी अधिकारीका अनुसार इन्टरपोलले माग गरेका कानुनी तथा प्रक्रियागत आधारहरू स्पष्ट पारेर नयाँ विवरण पठाइएको छ। यद्यपि, कुन मुद्दा वा अभियोगका आधारमा ‘रेड नोटिस’ माग गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन।
इन्टरपोलको ‘रेड नोटिस’ कुनै व्यक्तिलाई पक्राउ गरी सम्बन्धित देशमा कानुनी प्रक्रियाका लागि उपस्थित गराउन सदस्य राष्ट्रहरूलाई गरिने अन्तर्राष्ट्रिय सूचना हो। अब महासचिवालयले नेपालबाट प्राप्त विवरण अध्ययन गरी थप निर्णय गर्ने बताइएको छ।
















