रौतहट, माघ १३ । रौतहटको परोहा नगरपालिका–९ रामपुरखापमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद चर्किँदा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ६८ राउन्ड अश्रुग्यास प्रहार गरेका छन्।
स्थानीय तहका स्रोतका अनुसार मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादले झडपको रूप लिएपछि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। भीड नियन्त्रण बाहिर जान थालेपछि अश्रुग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झडपमा केही स्थानीयवासी तथा सुरक्षाकर्मी सामान्य घाइते भएका थिए। घाइतेहरूलाई प्राथमिक उपचारपछि घर फर्काइएको प्रहरीले जानकारी दिएको छ। घटनापछि क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ भने सम्भावित अप्रिय घटना रोक्न अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले घटनासम्बन्धी अनुसन्धान सुरु गरेको र केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै समुदायलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।
















