मन्त्री कुलमान घिसिङमाथि नैतिक प्रश्न, पद र राजनीतिबीचको द्वन्द्वले छवि जोखिममा

पुस २३,काठमाडौं । नागरिक सरकार गठन भएको करिब एक महिनाभन्दा बढी समय बितिसक्दा ‘उज्यालो नेपाल’का नायकका रूपमा परिचित मन्त्री कुलमान घिसिङले कार्यगत सक्रियता र निर्णय क्षमताका कारण अन्य मन्त्रीहरूलाई ओझेलमा पारेको मूल्याङ्कन भइरहेको छ। तर पछिल्लो समय उनको भूमिकालाई लिएर नैतिक प्रश्नहरू सतहमा आउन थालेका छन्।
पार्टीगत राजनीतिमा सक्रिय भइसकेपछि मन्त्री पदबाट अलग हुनु उपयुक्त हुने भन्ने आवाज तीव्र बन्दै गएको छ। सार्वजनिक पद र दलगत संलग्नताबीच स्पष्ट सीमारेखा आवश्यक हुने तर्कसँगै, नैतिक दबाब बढ्दै गएको विश्लेषकहरू बताउँछन्। यद्यपि, घिसिङले विभिन्न कारण प्रस्तुत गर्दै पदमै निरन्तर रहन चाहेको संकेत देखिएको छ।
राजनीतिक वृत्तमा, तत्कालका लागि यो अवस्था घिसिङका लागि लाभदायक देखिए पनि दीर्घकालीन रूपमा प्रतिउत्पादक हुनसक्ने चेतावनीहरू उठिरहेका छन्। विशेषतः, मन्त्री पद छाड्ने सर्तमा आफ्नो नजिकको व्यक्तिलाई सो पदमा निरन्तरता दिनुपर्ने अडान राखिएको चर्चा सार्वजनिक भएपछि विवाद थप चर्किएको छ।
यससँगै, राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइसकेपछि पार्टीभित्रै पद र भूमिकालाई लिएर असन्तुष्टि देखिन थालेको बताइन्छ। पार्टी अनुशासन, सार्वजनिक उत्तरदायित्व र नैतिक मान्यताबीचको सन्तुलनबारे प्रश्न उठ्दा, आन्तरिक बहस पनि तीव्र भएको स्रोतहरूको दाबी छ।
यी घटनाक्रमका कारण आम नागरिक तथा समर्थकहरूमाझ ‘कुलमान पदप्रति अत्यधिक आशक्त देखिए’ भन्ने धारणा विकास हुँदै गएको देखिन्छ। सार्वजनिक छवि विश्वास र नैतिकतामा आधारित हुने भएकाले, यो धारणा दीर्घकालीन रूपमा उनको राजनीतिक भविष्य र विश्वसनीयतामा असर पार्न सक्ने सम्भावना रहेको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more