मन्त्रिपरिषद्को निर्णय : १५ लाख क्षतिपूर्ति र असोज १ मा सार्वजनिक बिदा

भदौ ३०, काठमाडौ ।  हालैको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नागरिकहरूलाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली दिने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धमा सात बुँदे निर्णय गर्दै शहीदहरूको परिवार र घाइतेहरूको लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको हो।

सरकारले सहादत प्राप्त व्यक्तिहरूलाई सहित (शहीद) घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै, आउँदो असोज १ गतेलाई शोक दिवसको रूपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय पनि गरिएको छ।

परिवारजनलाई क्षतिपूर्ति स्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ भने आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइनेछ। शव व्यवस्थापनका लागि आवश्यक पर्ने सवारी साधन निःशुल्क उपलब्ध गराइने निर्णय भएको छ। दुर्गम स्थानमा भने शवको व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्ने र दाहसंस्कारमा समेत सहयोग पुर्‍याइनेछ।

आन्दोलनको क्रममा भएको घुसपैठबारे सत्य तथ्य बाहिर ल्याउन सरकारले न्यायिक छानबिन समिति वा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सो आयोगको प्रतिवेदनका आधारमा आगामी कदम चालिने उल्लेख गरिएको छ।

यस्तै, सहादत प्राप्त व्यक्तिहरूको स्मरणमा सरकारले “जेन्जी जागरण स्मरण पार्क” स्थापना गर्ने निर्णय पनि गरेको छ।

सरकारका अनुसार यी निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याइने र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more