भदौ ५ , जनकपुरधाम— मधेश प्रदेश सरकारले आगामी लगानी सम्मेलनलाई सफल बनाउन तयारी सुरु गरेको छ। यसै क्रममा बिहीवार प्रदेश राजधानी जनकपुरधाममा विशेष छलफल आयोजना गरिएको छ।छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायत सहभागी थिए।
आर्थिक सल्लाहकार बैधका अनुसार सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नु, सहकार्य र साझेदारीमार्फत विकासलाई अघि बढाउनु र रोजगारी सिर्जना गर्नु रहेको छ। साथै, मधेश प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने रणनीति सम्मेलनमार्फत अघि सारिने उनले बताए।सम्मेलनमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसरहरू प्रस्तुत गरिने तयारी भइरहेको छ। यसमार्फत आन्तरिक तथा बाह्य लगानी आकर्षित भई स्थानीय युवाका लागि रोजगारी सिर्जना हुने, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि हुने र प्रदेशको आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले सम्मेलनलाई दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार तथा अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्य गरी कार्यक्रमलाई सफल बनाउन तयारी भइरहेको जनाइएको छ।
















