अध्ययन भिसामा आएर धर्म प्रचारमा संलग्न इन्डोनेसियाका तीन महिला पक्राउ

भदौ ५, काठमाडौ ।पर्यटक र अध्ययन भिसामा नेपाल प्रवेश गरेका तीन जना इन्डोनेसियाली महिलालाई अध्यागमन विभागले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

अध्यागमन विभागका अनुसार पक्राउ परेकामध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर, अनुसन्धानमा उनीहरू कुनै पनि शैक्षिक संस्थामा भर्ना नभएको खुलेको छ। बरु, उनीहरूले ललितपुरको धोबीघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामा गर्ल्स होस्टेल सञ्चालन गरी शिक्षकका रूपमा बस्दै मुस्लिम धर्म प्रचारप्रसारमा संलग्न रहेको विभागले जनाएको छ।त्यहाँ उनीहरूले टर्कीस र कुरान भाषा सिकाउने कार्य गर्दै मुस्लिम धर्म प्रचार गर्ने गरेको भेटिएको छ। अनुसन्धानबाट उक्त संस्थाले अन्तर्राष्ट्रिय संस्थाबाट प्रत्येक वर्ष करिब २ करोड ५० लाख रुपैयाँ धर्म प्रचारका नाममा सहयोग पाउने गरेको समेत खुलेको छ।

अध्यागमन विभागका अनुसार ती महिलाहरूलाई ५० जना छात्रालाई कुरान पढाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। यस्ता छात्रा अन्य शैक्षिक संस्थामा भर्ना नभएको पनि पुष्टि भएको छ। त्यस्तै, ललितपुरकै ज्वागलमा सञ्चालन गरिएको ब्वाइज होस्टेलमार्फत समेत विभिन्न जिल्लाका युवालाई कुरान पढाइ धर्म प्रचार गरिएको विभागको भनाइ छ।

नेपालमा पर्यटक वा अध्ययन भिसामा बस्ने विदेशी नागरिकलाई रोजगार वा व्यवसाय गर्ने अनुमति छैन। अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ ले विदेशी नागरिकलाई भिसा प्राप्त गर्दा तोकिएको उद्देश्यबाहेक अन्य गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।नियम उल्लंघन गर्ने विदेशीलाई अध्यागमन विभागका महानिर्देशकले अनुसन्धानपछि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने, तोकिएको वा अनिश्चित कालसम्म नेपाल पुनः प्रवेश नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ।

 

 

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more

    Leave a Reply