मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता

कार्तिक २७, जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको छ। सभामुख मण्डलले पदको मर्यादा विपरीत काम गरेको आरोप लगाउँदै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलका ७४ जना सांसदहरूले बिहीबार संयुक्त रूपमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

महाभियोग दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकन्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) रहेका छन्।

स्रोतका अनुसार, निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिने क्रममा सभामुख मण्डलले गरेको हस्तक्षेप र कार्यशैलीलाई लिएर दलहरूबीच असन्तोष उत्पन्न भएको थियो। उक्त विवादकै कारण सातवटै दलले संयुक्त रूपमा महाभियोग दर्ता गर्ने निर्णय गरेका हुन्।

महाभियोग प्रस्तावमा मण्डलमाथि प्रदेशसभाको प्रक्रियामा राजनीतिक पक्षपात गरेको, मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रक्रियालाई अवरुद्ध गरेको र सभामुखको तटस्थ भूमिकाविपरीत कार्य गरेको आरोप लगाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार, महाभियोग प्रस्तावमा आवश्यक दस्तावेजहरू संलग्न गरी दर्ता गरिएको छ र अब यो प्रस्तावमा प्रदेशसभाको कार्यविधिअनुसार छलफल र निर्णय प्रक्रिया अघि बढाइनेछ।

यससँगै मधेश प्रदेशको राजनीतिक वातावरण फेरि एकपटक तातिएको छ। सत्ता समीकरण फेरबदलको प्रयास भइरहेको अवस्थामा सभामुखमाथिको महाभियोगले प्रदेश राजनीतिमा नयाँ अनिश्चितता र तनाव थपेको छ।

प्रदेशसभामा नयाँ सत्ता समीकरणका प्रयास भइरहेका बेला सभामुखमाथिको यो कदमले आगामी राजनीतिक घटनाक्रमलाई अझ जटिल बनाउने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more