१८ जेठ, काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालत काठमाडौंले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो।
विद्युतीय चुरोट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा बयान तथा थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्ने आदेश आएको हो।
यसअघि यही प्रकरणमा उच्च अदालत पाटनले पनि महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
भेपमार्फत सुन तस्करी भएको घटनाले राष्ट्रियस्तरमै व्यापक चर्चा पाएको थियो। उक्त प्रकरणमा विभिन्न व्यक्ति तथा समूहको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाइएको छ।















