बिरगंजमा हैजाको प्रकोप : दुई जनाको मृत्यु, विद्यालय बन्द र पानीपुरी बिक्रीमा प्रतिबन्ध

भदौ ८ , बिरगंज ।पर्साको वीरगन्जमा हैजाको प्रकोप फैलिँदै जाँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा १९ वर्षीया एक महिला र ३५ वर्षे एक पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म ८ जना बिरामी गम्भीर अवस्थामा रही वीरगन्जस्थित विभिन्न अस्पतालको आईसीयूमा उपचाररत छन्।

अचानक बढ्दै गएको हैजाको प्रकोपलाई नियन्त्रण गर्न पर्सा जिल्ला प्रशासन कार्यालयले आगामी दुई दिनका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। साथै संक्रमणको मुख्य कारणमध्ये मानिएको सडकछाप पानीपुरीमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार दूषित खानेपानी र सरसफाइको कमीका कारण हैजा तीव्ररूपमा फैलिएको हो। वीरगन्ज उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रूपमा प्रभावित क्षेत्रमा क्लोरिनयुक्त पानी वितरण, सचेतना कार्यक्रम र आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गर्न थालेका छन्।

उपमहानगरपालिकाका मेयरको भनाइअनुसार, “हैजाको प्रकोप नियन्त्रण गर्न तत्कालीन प्राथमिकता सरसफाइ, सुरक्षित पानीको आपूर्ति र संक्रमितलाई समयमै उपचार पुर्‍याउनु हो।”स्वास्थ्य विशेषज्ञहरूले हैजा अत्यन्त संक्रामक भएकोले संक्रमित क्षेत्रका बासिन्दालाई उमालेर मात्र पानी पिउन, हात धुने बानी अपनाउन र बाहिरको खुला खानेकुरा खानबाट बच्न आग्रह गरेका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more