पुस १०, जनकपुरधाम। — बंगलादेशमा हिन्दु युवक दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाको विरोधमा रामानन्दीय वैष्णव संघको अगुवाइमा बिहीबार जनकपुरधाममा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ।
उक्त घटनालाई अमानवीय तथा धर्मको आडमा गरिएको मानवता विरोधी अपराधको संज्ञा दिँदै संघले शान्तिपूर्ण र्यालीमार्फत आक्रोश प्रकट गरेको हो। जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको विरोध र्याली जनकपुरधामका विभिन्न स्थानको परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
र्यालीमा साधुसन्त, धार्मिक अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा तत्काल रोक्नुपर्ने मागसहित विभिन्न नारा लगाएका थिए।
प्रदर्शनलाई सम्बोधन गर्दै रामानन्दीय वैष्णव संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दिपुचन्द्र दासको हत्या कुनै एक व्यक्तिमाथिको मात्र आक्रमण नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको बताए। उनले बंगलादेशमा पटक–पटक हिन्दु अल्पसंख्यक लक्षित हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।
महन्थ दासले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको गम्भीर उल्लङ्घन भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरे। साथै, नेपाल सरकारले कूटनीतिक पहल गर्दै बंगलादेश सरकारसँग औपचारिक रूपमा कुरा उठाई अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न दबाब दिनुपर्ने उनले आग्रह गरे।
प्रदर्शनमा सहभागी अन्य वक्ताहरूले धार्मिक सहिष्णुता, मानवता र शान्तिको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
महन्थ दासले यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण तत्काल नरोकिने हो भने हिन्दु समाज, साधुसन्त तथा धार्मिक संघसंस्थाहरू थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए।
रामानन्दीय वैष्णव संघले मृतक दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। संघले आगामी दिनमा पनि यस्ता अमानवीय घटनाविरुद्ध निरन्तर आवाज उठाउने तथा धार्मिक सहअस्तित्व र मानवअधिकारको रक्षा गर्न सक्रिय रहने प्रतिबद्धता जनाएको
















