बंगलादेशको जुलाई विद्रोहका प्रमुख नेता शरीफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रममा निधन

पुस ४, बाङ्गलादेश- ढाका। बंगलादेशमा गत वर्ष जुलाईमा भएको विद्रोहका प्रमुख नेता तथा इंकलाब मञ्चका प्रवक्ता शरीफ उस्मान हादीको बिहीबार राति सिंगापुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। हादीमाथि अघिल्लो हप्ता अज्ञात समूहले टाउकोमा गोली प्रहार गरेपछि उनी गम्भीर घाइते भएका थिए।

मुख्य सल्लाहकार मुहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै हादीको निधनको पुष्टि गरेका हुन्। उनले भने, “आज म तपाईंहरूका सामु अत्यन्त दुःखद खबर लिएर आएको छु। जुलाई विद्रोहका निडर अग्रपंक्तिका लडाकु तथा इंकलाब मञ्चका प्रवक्ता शरीफ उस्मान हादी अब हाम्रो बीचमा रहनु भएन।” युनुसले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरिने प्रतिबद्धता व्यक्त गर्दै एक दिनको राजकीय शोक घोषणा गरेका छन्।

हादीको परिवारले सिंगापुरमा उनको ज्यान बचाउने अन्तिम प्रयासस्वरूप शल्यक्रियाका लागि सहमति दिएको केही घण्टापछि नै उनको मृत्यु भएको बताइएको छ।

हादीको निधनको खबर फैलिनासाथ राजधानी ढाकामा तनाव फैलिएको छ। न्यायको माग गर्दै प्रदर्शनकारीहरू शाहबाग क्षेत्रमा भेला भई नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले हत्याको कडा निन्दा गर्दै सरकारी निकायमाथि निष्क्रियताको आरोप लगाएका छन्।

यसैबीच, जातीय विद्यार्थी शक्ति संगठनका नेता तथा कार्यकर्ताहरूले शिक्षक–विद्यार्थी केन्द्र (टीएससी) बाट छुट्टै जुलुस निकालेका छन्। उता राजशाही विश्वविद्यालय (आरयू) का सयौं विद्यार्थीले विशाल विरोध मार्च निकालेपछि राजशाही शहरको अवस्था थप तनावग्रस्त बनेको छ। विश्वविद्यालय परिसरबाट सुरु भएका प्रदर्शनहरू शहरको केन्द्रसम्म पुगेका थिए, जहाँ हाल प्रतिबन्धित अवामी लिगको एक पार्टी कार्यालयमा तोडफोड गरिएको छ।

परिस्थिति बिग्रन नदिन सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ र संवेदनशील क्षेत्रमा थप सुरक्षा व्यवस्था गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more