निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चले खारेज गर्यो

३० असार ,काठमाडौं। सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सार्वजनिक सूचना नदिने सरकारको निर्णय बदर गर्दै सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध हटाइदिएको छ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय कानुनसम्मत नभएको ठहर गर्दै बदर गर्ने फैसला सुनाएको हो।
सरकारले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय, प्रदेश र स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरेको थियो। त्यसपछि निजी पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजन सरकारी विज्ञापनबाट वञ्चित भएका थिए।
उक्त निर्णय प्रेस स्वतन्त्रता, निष्पक्ष प्रतिस्पर्धा तथा संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको भन्दै नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक तथा अधिवक्ता अनन्तराज लुईंटेलले २०८२ चैत २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि असार २२ र २३ गते लगातार सुनुवाइ भएको थियो। नेपाल मिडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी तथा अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल र डा. प्रेमराज सिलवाललगायतले बहस गरेका थिए।
सर्वोच्च अदालतको यस फैसलासँगै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा रोक लगाउने सरकारी व्यवस्था स्वतः निष्क्रिय भएको छ। सञ्चार क्षेत्रले यस निर्णयलाई प्रेस स्वतन्त्रता, समान अवसर तथा प्रतिस्पर्धात्मक सञ्चार वातावरणको पक्षमा आएको महत्वपूर्ण कानुनी नजिरका रूपमा स्वागत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more