कार्तिक ११, काठमाडौ ।— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई दुई पटक भेटेर हालको राजनीतिक र प्रशासनिक अवस्थाप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्रीसँगको भेटमा सरकारले जेन–जेड आन्दोलनमा दमन गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेदेखि व्यवसायी दुर्गा प्रसाईलाई नियन्त्रणमा लिन र गृहमन्त्री ओमप्रकाश अर्याललाई बिदा गर्नेसम्मका माग अघि सारेका छन्।
बालेनले प्रधानमन्त्रीसँगको संवादमा वर्तमान मन्त्रीहरूको ढिलासुस्तीपूर्ण कार्यशैली, जनभावना विपरीतका निर्णय र विद्रोहको म्यान्डेटलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारप्रति जनतामा तीव्र असन्तोष बढिरहेको उल्लेख गर्दै, “यदि सरकारले आन्दोलनको मर्म बुझेर तत्काल सुधार गरेन भने देशमा अप्रिय परिस्थिति सिर्जना हुन सक्छ,” भन्दै चेतावनी दिएका छन्।
विश्वसनीय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले बालेनको माग सुनेकी र ‘कानून र संविधानको दायराभित्र रहेर आवश्यक निर्णय लिइने’ प्रतिबद्धता जनाएकी छिन्। तर बालेनले तत्काल निर्णय र कार्यान्वयनको अपेक्षा राख्दै प्रधानमन्त्रीलाई स्पष्ट सन्देश दिएका छन् कि “जनताले दिएको म्यान्डेट विद्रोहको थियो, मौनताको होइन।”
जेन–जेड आन्दोलनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र धरपकडका घटनालाई लिएर बालेन निरन्तर सरकारमाथि आक्रमक बनेका छन्। उनले केही दिनअघि पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयलाई चेतावनी दिँदै लेखेका थिए, “जनताको आवाज दमन गरेर शान्ति सम्भव छैन।”
यसैबीच, राजनीतिक वृत्तमा बालेनको सक्रियता र प्रधानमन्त्रीसँगको गोप्य भेटलाई आगामी राजनीतिक पुनर्संरचना र सरकारभित्रको दबाबको संकेतका रूपमा हेरिएको छ। केही विश्लेषकहरूले बालेनको यो कदमलाई राजधानीबाट केन्द्र सरकारमाथि बढ्दो ‘नागरिक शक्ति दबाब’ को सुरुवातका रूपमा पनि व्याख्या गरेका छन्।
















