कार्तिक ११, जनकपुरधाम। शिवराम झा —– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज मिथिला क्षेत्रलगायत सम्पूर्ण देशभर चार दिने महापर्व छठको विधिवत् समापन गरिएको छ। मंगलबार बिहान नित्य कर्म सकेर भक्तजनले जलाशय, नदी, पोखरी तथा तलाउमा स्नान गरी भगवान भास्कर अर्थात् सूर्यदेव र छठी माईलाई अन्तिम अर्घ्य अर्पण गरेसँगै पर्व सम्पन्न भएको हो।
चार दिनसम्म चल्ने यो पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझको अर्घ्य र अन्तिम दिन बिहानको अर्घ्य गरी सम्पन्न गरिन्छ। आज बिहान उदाउँदो सूर्यलाई दूध, जल, गंगा जल, अक्षता, पुष्प र फलफूलसहितको अर्घ्य अर्पण गर्दै व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गरे।
जनकपुरधामको गङ्गासागर पोखरी, धनुषसागर, अङ्गराज पोखरी, मणिमण्डप पोखरी लगायतका घाटहरूमा बिहान सबेरैदेखि नै व्रतालु र दर्शनार्थीहरूको ठूलो भीड देखिएको थियो। श्रद्धालुहरूले परम्परागत मैथिली भेषभूषा र लोकसंगीतका साथ सूर्यउदयको क्षणमा पूजा अर्चना गरेका थिए।
यस अवसरमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र विभिन्न सामाजिक सङ्गठनहरूले घाट व्यवस्थापनमा सहयोग गरेका थिए। भक्तजनहरूको सहज आवागमनका लागि ट्राफिक व्यवस्थापन दुरुस्त बनाइएको थियो।
पण्डित ज्योतिर्विद्य अमित कुमार झा का अनुसार- छठ पर्वमा सूर्यको उपासना गर्नुले शारीरिक, मानसिक र पारिवारिक समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। विशेषगरी नारीहरूले यो व्रत परिवारका सदस्यहरूको कल्याण र दीर्घायुका लागि अटूट श्रद्धासाथ गर्छन्।
जनकपुरधाम यो वर्ष कुनै अप्रिय घटना नभएको र सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।छठ पर्वको समापनसँगै मिथिला क्षेत्र पुनः आफ्नो सामान्य दिनचर्यामा फर्कँदैछ। तर घाटमा विगत चार दिनको धार्मिक उत्सवले सिर्जना गरेको भक्ति–भाव र उल्लास भने अझै पनि जनकपुरका गल्ली–गल्लीमा अनुभव गर्न सकिन्छ।
















