प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

पुस १२, काठमाडौ ।  निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले मतदाता नामावली ऐन, २०७३ तथा नियमावलीअनुसारको प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरिएको जनाएको छ।
आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अन्तिम मतदाता नामावलीमा कुल १ करोड ५८ लाख ३ हजार ६५९ मतदाता समावेश छन्। जसमध्ये पुरुष ७६ लाख ६३ हजार ३४५, महिला ७९ लाख ४० हजार १३१ तथा अन्य २०० जना रहेका छन्। सम्बन्धित मतदाताले आफ्नो नाम आयोगको वेबसाइटमार्फत पनि हेर्न सक्ने व्यवस्था गरिएको छ।
विगतको निर्वाचनको तुलनामा यस पटक मतदाताको संख्या उल्लेख्य रूपमा बढेको आयोगले जनाएको छ। विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा विसं २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ९९१ ले वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ। यस अवधिमा पुरुष, महिला र अन्य सबै समूहका मतदाताको संख्या बढेको आयोगको तथ्यांक छ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ६५१ मतदान स्थलमा २३ हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जानकारी दिएको छ। यो संख्या अघिल्लो निर्वाचनको तुलनामा मतदान स्थल र मतदान केन्द्र दुवैमा वृद्धि भएको हो।
निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सबै नागरिकलाई निर्धारण गरिएको मतदान केन्द्रबाट मतदान गर्न आग्रह गर्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सबै पक्षको सहयोग अपेक्षा गरेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more