जनकपुरधाममा जाडो बिदा थप, पुस १६ गतेसम्म विद्यालय बन्द

पुस १२, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले अत्यधिक जाडो, बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जाडो बिदा थप गरेको छ।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शनिबार  सूचना जारी गर्दै उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा सञ्चालन नगरी पुस १३ गतेदेखि पुस १६ गतेसम्म जाडो बिदा दिने निर्णय गरिएको जनाएको छ। यसअघि मौसममा सुधार नआएकाले बिदा अवधि थप गर्नुपरेको सूचनामा उल्लेख छ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा जारी सूचनामा विद्यालयहरूलाई उक्त अवधिमा पठनपाठन स्थगित गरी बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ। साथै, मौसमको अवस्था हेरेर आवश्यक परे थप निर्णय गरिने संकेत पनि उपमहानगरपालिकाले गरेको छ।
चिसो बढेसँगै जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ। विशेषगरी बिहान र बेलुकी बाक्लो कुहिरो लाग्ने भएकाले सवारी आवागमन र दैनिक क्रियाकलापमा समेत कठिनाइ भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more

    जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना पक्राउ

    Read more