काठमाडौं,साउन २-पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोमबारसम्म नेपालभर भारी वर्षा हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् ।
सोमबार दिउँसोदेखि पश्चिम र सुदूरपश्चिममा अत्यधिक वर्षा हुने । आइतबार–सोमबार वाग्मती, कोसी र गण्डकी जलाधार क्षेत्रमा भीषण वर्षा हुनेछ । आइतबार र सोमबार लामो दुरीको यात्रा नगरौँ । खासगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, बुटवल–नारायणगढ खण्ड भुलेर पनि यात्रा नगरौँ, उपाध्यायले फेसबुकमा लेखेका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि शनिबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आइतबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
















