पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच सिंहदरबारमा भेट, भ्रष्टाचार नियन्त्रण र स्वच्छ निर्वाचन प्राथमिक एजेण्डा

मंसिर २१, काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज सिंहदरबारमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ। देशको वर्तमान राजनीतिक परिस्थिति, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा फागुन २१ गते निर्धारित निर्वाचन तयारीका विषयमा दुवैबीच विस्तृत छलफल भएको प्रधानमन्त्री कार्कीले जानकारी दिएकी छन्।

भेटपछि जारी गरिएको वक्तव्यमा प्रधानमन्त्री कार्कीले हालै उत्पन्न मानवीय तथा भौतिक क्षतिका घटनामा दोषी ठहरिने कसैलाई समेत उन्मुक्ति नदिइने स्पष्ट धारणा व्यक्त गरेकी छन्। उनले जेनजी आन्दोलनले उठाएका माग र जनअपेक्षाअनुरुप सुशासन र जवाफदेहिताको कार्यसूचीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्।

उनका अनुसार भ्रष्टाचार नियन्त्रण र स्वच्छ शासन स्थापनालाई चुनावी तयारीसँगै समान प्राथमिकतामा अघि बढाइनेछ। “स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका पक्षमा पूर्वराष्ट्रपतिज्यूको चासो र समर्थनले सरकारलाई थप ऊर्जा प्रदान गरेको छ,” प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै वक्तव्यमा उल्लेख गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले पनि स्थिर, समावेशी र विश्वसनीय लोकतान्त्रिक अभ्यासको लागि आगामी निर्वाचन महत्वपूर्ण हुने बताउँदै सरकारलाई आवश्यक सहयोग र सुझाव प्रदान गर्ने आश्वासन दिएकी छन्। भेटलाई राजनीतिक समन्वय, राष्ट्रिय एकता र संस्थागत सुशासन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more