मंसिर २१, काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीमाथि आफूलाई सम्पत्ति शुद्धीकरण (मनिलेन्ड्रिङ) मामिलामा मुद्दा चलाउन र गिरफ्तार गर्ने तयारी गरेको गम्भीर आरोप लगाएका छन्। पार्टी कार्यालयमा ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ समारोहमा बोल्दै ओलीले प्रधानमन्त्रीले सम्बन्धित विभागका प्रमुखलाई तीनपटक बोलाएर प्रमाण जुटाउन दबाब दिएको दाबी गरे।
उनका अनुसार कानुनविपरीत रूपमा मुद्दा दर्ता गर्ने र पक्राउ प्रक्रियामा लैजान अस्वीकार गरेपछि विभाग प्रमुखलाई तत्काल हटाइेर नयाँ व्यक्ति नियुक्त गरिएको हो। ओलीले “कानुनभन्दा माथि कोही हुँदैन, तर कानुनविपरीत प्रयोग गर्न खोजियो” भन्दै यस घटनालाई राजनीतिक उद्देश्यसहित गरिएको प्रयासको संज्ञा दिए।
ओलीको यस अभिव्यक्तिपछि सत्तापक्ष र अन्य राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र टिप्पणी सुरु भएका छन्। कतिपयले ओली आफैँ कानुनी प्रक्रियाको नजिक पुगेका संकेत देखिएको टिप्पणी गर्न थालेका छन्।
यसै अवसरमा ओलीले वर्तमान सरकार ‘जनमतविनाको नेतृत्व’ भन्दै राजदूत फिर्ता गर्ने, अध्यादेश जारी गर्ने लगायतका निर्णयहरू अनाड़ी शैलीमा भइरहेको आरोप लगाए। उनले आगामी २१ फागुनमा हुने भनिएको निर्वाचन सञ्चालन गर्ने क्षमता सरकारले राख्दैन भन्दै, “शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित मतदानका लागि एमाले तयार छ, अबको सरकार पनि एमालेकै हुनेछ” भन्ने दाबी दोहोर्याए।
















