नेपाली कांग्रेसद्वारा गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय

माघ ३, काठमाडौ ।  नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी निर्वाचनमा जाने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।
शर्माका अनुसार विशेष महाधिवेशनमार्फत निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएसँगै पार्टीले स्पष्ट राजनीतिक दिशा तय गरेको हो। “नेपाली कांग्रेस अब गगनकुमार थापाको नेतृत्वमा आगामी निर्वाचनमा होमिनेछ र उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय गरिएको छ,” उनले बताए।
पार्टीभित्र लामो समयदेखि नेतृत्व र कार्यदिशालाई लिएर देखिएको अन्योल विशेष महाधिवेशनपछि टुंगिएको दाबी गर्दै शर्माले नयाँ नेतृत्वले संगठन सुदृढीकरण, सुशासन र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
सभापति थापाको नेतृत्वमा पार्टीले युवा पुस्ताको आकर्षण बढाउने, जनआधारित एजेन्डा अघि सार्ने र वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्ने रणनीति तय गरेको कांग्रेस नेताहरूको भनाइ छ।
नेपाली कांग्रेसको यस निर्णयलाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ। पार्टीले छिट्टै निर्वाचन लक्षित विस्तृत कार्यक्रम र घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more