नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशनतर्फ कांग्रेस

पुस १७, काठमाडौ ।  नेपाली कांग्रेसले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको छ। केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले तय गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको जानकारी पार्टीले जनाएको छ।
महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको छ। हालसम्म कुल ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भइसकेको छ। खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा नवीकरण प्रक्रिया टुंगिएपछि कुल संख्या ६ लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
यस अवधिमा १ लाख ९५ हजार ७ सय ३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ भने अन्य जिल्ला तथा जनसम्पर्क समितिहरूबाट पनि नयाँ सदस्यता दर्ता गर्ने काम निरन्तर जारी रहेको कांग्रेसले जनाएको छ। नियमित महाधिवेशन स्थगित भए पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको कार्यलाई निरन्तरता दिन सबै तहलाई निर्देशन दिइएको छ।

पार्टीले पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार अघिल्ला कार्यतालिका परिमार्जन गरी तीव्रता दिन नसक्दा समग्र कार्यतालिका प्रभावित र निष्प्रभावी बन्न पुगेको जनाएको छ। उत्पन्न अन्योल र अनिश्चितता अन्त्य गर्न बाध्य भएर वक्तव्य जारी गरिएको कांग्रेसको भनाइ छ।
यसैबीच, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी दर्ता गराएको विशेष महाधिवेशनको माग अब पुनः मुख्य विकल्पका रूपमा अघि आएको छ। पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको वैधानिक दायित्व रहेको र सो प्रक्रिया सम्भव भएसम्म सर्वसम्मतिका आधारमा अघि बढाइने महामन्त्रीद्वयले स्पष्ट पारेका छन्। नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था सिर्जना भएसँगै नेपाली कांग्रेस अब विशेष महाधिवेशनको दिशातर्फ औपचारिक रूपमा उन्मुख भएको देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more