नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यातायात मन्त्रालयमा आकस्मिक बैठक

असोज ४, काठमान्डौ।  देशका मुख्य राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडक शुक्रबार रातिदेखि अवरुद्ध भएपछि आज बिहान यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

सडकमा निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले बाटो खोल्न कठिनाइ भइरहेको र यात्रुहरू रातिदेखि नै बाटैमा अलपत्र परेको जानकारी प्राप्त भएको छ। लामो दुरीका यात्रुबस, मालवाहक सवारीसाधन तथा छोटो दुरीका यात्रुहरू समेत सडक अवरोधका कारण प्रभावित बनेका छन्।

यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर प्रतिनिधि सहभागी भएका थिए। साथै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी समेत उपस्थित थिए।

बैठकमा तत्काल पहिरो हटाउने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र वैकल्पिक मार्ग प्रयोग गर्ने विषयमा छलफल भएको थियो।

सडक विभागका अधिकारीहरूले लगातार वर्षा रोकिएपछि मात्र ठूला उपकरण परिचालन गरी सडक खुलाउने सम्भावना रहेको बताएका छन्। त्यस्तै, गृह मन्त्रालयका प्रतिनिधिहरूले जोखिमयुक्त स्थानमा यात्रुहरूलाई अनावश्यक यात्राबाट रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिने तयारी गरेको बताए।

यसैबीच, दशैं अवधिभर बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा १२ चक्के वा सोभन्दा माथिका ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरिएको छ। तर खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधि लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइने पनि बैठकले निर्णय गरेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more