कार्तिक १८, जनकपुरधाम। धनतेरस पर्वको पूर्व सन्ध्यामा जनकपुरधामका व्यापारीहरुले आज तीन घण्टासम्म बजार बन्द गरी प्रदर्शन गरेका छन्। सुनचाँदी बजारमा भएको विवादास्पद घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा व्यापारीहरु आन्दोलित भएका हुन्।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिटको विरोधस्वरूप व्यापारीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरेका थिए। बजार बन्दका क्रममा व्यापारीहरुले नगरभर र्याली निकाल्दै ‘व्यापारीमाथि दमन बन्द गर’, ‘दोषी प्रहरीलाई कारबाही गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।
यो आन्दोलन संघको दोस्रो चरणको कार्यक्रमअन्तर्गत भएको हो। यसअघि पहिलो चरणमा व्यापारीहरुले तीन दिनसम्म कालो पट्टी बाँधेर र व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुण्ड्याएर विरोध जनाएका थिए।
धनतेरसको पूर्व सन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचना पाएको भन्दै छापा मारेको थियो। उक्त छापाको क्रममा प्रहरीले एक पसलबाट ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरु आक्रोशित बनेका थिए। व्यापारीहरुले प्रहरीले ‘छापाको नाममा चाँदी लुटेको’ आरोप लगाउँदै प्रतिवाद गरेपछि दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले बल प्रयोग गर्दै गोलीसमेत चलाएको थियो।
प्रहरीको कुटपिटबाट घाइते भएका संघ अध्यक्ष सुरेन्द्र भण्डारी उपचाररत छन्। व्यापारीहरुले घटनाको निष्पक्ष छानबिन र दमनमा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग गरेका छन्।
धनतेरस र दीपावली जस्ता पर्वमा जनकपुरधाममा सुनचाँदी र ससाना व्यवसाय अत्यधिक चलायमान हुने गर्छन्। तर, छापामारी र प्रहरी हस्तक्षेपका कारण यस वर्षको पर्वमा बजार व्यवसायमा ठुलो असर परेको व्यापारीहरुको गुनासो छ।
जनकपुरधाम उद्योग वाणिज्य संघले चेतावनी दिएको छ कि यदि माग पुरा नभएमा आन्दोलनलाई थप उग्र बनाइनेछ। संघले भोलिदेखि नै सर्वदलीय बैठक बोलाएर आगामी आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको जनाएको छ।
















