पुस ३०, काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा चुलिँदै गएको आन्तरिक विवाद समाधान र पार्टी एकता जोगाउने उद्देश्यसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासमक्ष ८ बुँदे प्रस्ताव पेश गरेका छन्। नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचनालाई केन्द्रमा राखिएको उक्त प्रस्तावलाई कांग्रेस एकता जोगाउने ‘अन्तिम अस्त्र’का रूपमा हेरिएको छ।
प्रस्तावमा सभापति देउवाले कार्यकारी भूमिकाबाट बहिर्गमन गर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै, जारी विशेष महाधिवेशनको सम्पूर्ण स्वामित्व औपचारिक रूपमा ग्रहण गर्दै यसबाट पारित हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनको ‘ओनरशिप’ पार्टी नेतृत्वले लिनुपर्ने बुँदा समेटिएको छ।
गगन–विश्वको प्रस्तावमा आगामी आम निर्वाचनअघि नै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्ने माग गरिएको छ। यसका साथै कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी कांग्रेस एक्लै निर्वाचनमा जाने नीति लिनुपर्ने उल्लेख छ।
टिकट वितरण प्रक्रियालाई विवादरहित र विश्वसनीय बनाउन सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्ने प्रस्ताव गरिएको छ। साथै, पार्टीलाई पूर्ण रूपमा निर्वाचनकेन्द्रित बनाउन पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्ने बुँदा पनि प्रस्तावमा समावेश छ।
उम्मेदवार चयन प्रक्रियामा सभापति देउवाको प्रत्यक्ष हस्तक्षेप अन्त्य गर्ने उद्देश्यसहित उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यसले टिकट वितरणमा संस्थागत निर्णय र सामूहिक नेतृत्वको अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र शक्ति सन्तुलन, नेतृत्व हस्तान्तरण र आगामी निर्वाचन रणनीतिलाई केन्द्रमा राखेर ल्याइएको यो ८ बुँदे प्रस्तावलाई विशेष महाधिवेशनको निर्णायक दस्तावेजका रूपमा लिइएको छ। अब देउवा पक्षले यस प्रस्तावमा कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा कांग्रेसको भावी एकता र नेतृत्व संरचना निर्भर रहने देखिएको

















