कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापाको एकल उम्मेदवारी

पुस ३०,काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ। बिहान ११ बजेसम्म चलेको मनोनयन दर्ता कार्यक्रममा सभापति पदमा थापाबाहेक अन्य कुनै पनि उम्मेदवार नपरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
सभापति पदमा एकल उम्मेदवारी परेसँगै गगन थापा निर्विरोध रूपमा कांग्रेसको शीर्ष नेतृत्वमा चयन हुने सम्भावना बलियो बनेको छ। विशेष महाधिवेशनले पार्टीको आगामी नेतृत्व र राजनीतिक दिशालाई औपचारिक रूपमा टुंग्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। दुवै नेता यसअघि पनि पार्टीको नेतृत्व तहमा सक्रिय भूमिकामा रहेका छन्। सहमहामन्त्री पदका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा कुल आठ जना सहमहामन्त्री रहने व्यवस्था छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीका अनुसार सबै पदमा उम्मेदवारी दर्ता भइसकेको छ। उम्मेदवारहरूको औपचारिक नामावली दिउँसो १ बजे सार्वजनिक गरिने उनले जानकारी दिए। केसीले मनोनयन फाराम वितरण र दर्ता प्रक्रिया बिहान ११ बजे नै सम्पन्न भएको उल्लेख गर्दै सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयास रहने बताए। उनका अनुसार सर्वसम्मति राजनीतिक विषय भएकाले त्यसबारे अन्तिम निर्णय पार्टी नेतृत्वकै हातमा रहनेछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले पदअनुसार उम्मेदवारी दर्ता शुल्कसमेत तोकेको छ। सभापति पदका लागि ३० हजार रुपैयाँ, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मनोनयन फाराम लिँदा शुल्क नलाग्ने भए पनि उम्मेदवारी दर्ताका बेला भने तोकिएको दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more