कार्तिक २४, नयाँदिल्ली ।— भारतको राजधानी दिल्लीमा ऐतिहासिक लाल किल्ला नजिकै एक कारमा बम विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको छ। प्रारम्भिक विवरण अनुसार, घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
विस्फोट लाल किल्ला मेट्रो स्टेशन नजिक पार्क गरिएको एक कारमा भएको बताइएको छ। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको र त्यसपछि आगलागी फैलिँदा वरिपरिका धेरै कारहरू पनि आगोको चपेटामा परेका छन्।
घटनास्थलमा तुरुन्तै फायर ब्रिगेडका ७ वटा टोलीहरू र दिल्ली प्रहरीको विशेष टोली पुगेर उद्धार तथा नियन्त्रण कार्य थालिएको दिल्ली प्रहरीका प्रवक्ताले जनाएका छन्। हाल सम्पूर्ण दिल्लीमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।
विस्फोटको कारणबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा निकायहरूले सम्भावित आतङ्कवादी गतिविधि, प्राविधिक त्रुटि वा योजनाबद्ध हमलाको कोणबाट अनुसन्धान अघि बढाएको जनाइएको छ।
घटनापछि आसपासका क्षेत्रहरू सिल गरिएका छन् र दिल्ली प्रहरीका बम डिस्पोजल टोलीले अन्य शंकास्पद वस्तुहरूको खोजी गरिरहेका छन्।
सरकारले मृतक र घाइतेहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षा निकायलाई तुरुन्त दोषी पहिचान र नियन्त्रणमा लिन निर्देशन दिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार विस्फोट यति भीषण थियो कि आसपासका घर र पसलका सिसा फुटेका छन् र मानिसहरूमा तीव्र त्रास फैलिएको छ।
भारतका गृहमन्त्रीले घटनाको विस्तृत प्रतिवेदन माग्दै तत्काल अनुसन्धान सुरु गर्ने आदेश दिएका छन्।
















