पुस १६, जनकपुरधाम ।—बाक्लो हुस्सु र शीतलहरका कारण मौसममा सुधार नआएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुनः जाडो बिदा घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो उठ्न थालेको छ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अन्जु पाण्डेयद्वारा मिति २०८२/०९/११ मा जारी सूचनाअनुसार जाडो बिदाबाट कट्टा हुने गरी मिति २०८२/०९/१३ देखि २०८२/०९/१६ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको थियो। उक्त सूचना जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा तथा विभिन्न निजी विद्यालय संघ–संस्थालाई बोधार्थ पठाइएको थियो।
तर, सूचनाको उल्लंघन गर्दै गोगल माध्यमिक विद्यालय बसहिया लगायत केही विद्यालयहरू अघिल्लो दिन नै सञ्चालनमा रहेको देखिएको थियो। त्यस्तै, हिजो मदर टेरेसा र सिद्धार्थ विद्यालय तथा आज पनि मोनालिसा स्कुल सञ्चालनमा रहेको स्थानीयले बताएका छन्। यसले उपमहानगरपालिकाबाट जारी निर्देशन कागजमै सीमित भएको आरोप लाग्न थालेको छ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले सूचना निकालेर मात्र दायित्व पूरा भएको ठान्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै कार्यान्वयन पक्ष कमजोर देखिएको बताएका छन्। “बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा स्थानीय सरकारको निर्देशन अटेर गर्ने विद्यालयमाथि के कारबाही हुन्छ?” भन्ने प्रश्न अहिले जनचासोको विषय बनेको छ।
यस विषयमा सम्बन्धित निकायबाट हालसम्म कुनै स्पष्ट कारबाही प्रक्रिया सार्वजनिक नभएकाले स्थानीय सरकारको नियमन क्षमता र जिम्मेवारीमाथि पनि प्रश्न उठ्न थालेको छ।
















