२२ चैत, जनकपुरधाम। — स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा वडा नम्बर–१० को समन्वयमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा वडा नं. १४ विजेता बनेको हो।
रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न फाइनल खेलमा वडा नं. १४ ले वडा नं. १७ लाई ७ विकेटले पराजित गर्दै उपाधि जित्यो। दर्शकहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. १७ ले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। टोली १९.३ ओभरमै अलआउट हुँदै १०९ रनमा सीमित भयो। प्रदीपले ३९ रन र अविषेकले १८ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
वडा नं. १४ का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। राजीव यादवले ४ ओभरमा १० रन खर्चेर ५ विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखे। रुपेश यादव र राहुल यादवले २–२ विकेट लिए भने कृषमोहनले १ विकेट हात पारे।
१०९ रनको लक्ष्य पछ्याएको वडा नं. १४ ले आक्रामक खेल प्रस्तुत गर्दै मात्र १०.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। रुपेश यादवले ४५ रनको उत्कृष्ट इनिङ्स खेले भने राजा यादवले ३१ रन बनाए। चन्दन १५ रन र आकाश यादव ७ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।
खेलमा राजीव यादव ‘म्यान अफ द म्याच’ घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रुपेश यादव ‘म्यान अफ द सिरिज’ बने। उत्कृष्ट ब्याट्सम्यान पंकज यादव र उत्कृष्ट बलर अनिकेत यादव घोषित भए।
विजेता वडा नं. १४ लाई नगद २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ भने उपविजेता वडा नं. १७ ले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। ‘म्यान अफ द सिरिज’ लाई ५१०० रुपैयाँ तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ३१०० रुपैयाँसहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।
पुरस्कार वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले खेलकुद क्षेत्रको विकासमा आफू प्रतिबद्ध रहेको बताए। उनले विजेता तथा उपविजेता टोलीलाई प्रदान गरिएको नगद पुरस्कार आफ्नो व्यक्तिगततर्फबाट सहयोग गरेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताको सफल आयोजनामा वडा नम्बर–१० का वडाध्यक्ष मिथिलेश कर्णको महत्वपूर्ण भूमिका रहेको आयोजक समितिले जनाएको छ। स्थानीय स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
सरोकारवालाहरूका अनुसार खेलकुदमार्फत सामाजिक एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न यस्ता गतिविधिहरू आवश्यक रहेका छन्।



















