जनकपुरधामका सडकमा सुतेका असहायलाई क्लोथ बैंक नेपालको रात्रीकालीन सिरक वितरण

पुस १६, जनकपुरधाम।—कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ।

क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाको नेतृत्वमा सचिव मनीष श्रीओमसहितको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डिआइजी गोविन्द थपलिया, एसपी गुरुम कुँवर, कार्यालय सचिव कृष्णकुमार साह, प्रहरी नायब निरीक्षक रवि मण्डल तथा हवल्दार राम टहल यादवको सहभागितामा राति करिब ११ बजेसम्म जनकपुरधामका विभिन्न स्थानमा पुगेर सिरक वितरण गरेको हो।

टोलीले गंगासागर, राम मन्दिर, जानकी मन्दिर, बारबिघा, संकटमोचन मन्दिर, रेलवे स्टेशन, मिल्स एरिया लगायतका क्षेत्रमा पुगेर जाडोले कठोर बनाएको रातमा सडक पेटीमा अस्वस्थ अवस्थामा सुतेका गरिब, असहाय तथा विपन्न व्यक्तिहरूलाई खोजी–खोजी सिरक वितरण गरेको जनाएको छ। यस अभियानले सडक जीवन बिताइरहेका नागरिकलाई तत्कालीन राहत प्रदान गरेको क्लोथ बैंक नेपालले जनाएको छ।
यसअघि रौनियार युवा मञ्चले क्लोथ बैंक नेपाललाई ५० थान फाइबर सिरक सहयोग गरेको थियो। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष तथा क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरन रौनियारको पहलमा उपलब्ध सिरकमध्ये २५ थान जनकपुरधाममा वितरण गरिएको हो।

सिरक हस्तान्तरण कार्यक्रम रौनियार सेवा समितिको परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा रौनियार युवा मञ्चका अध्यक्ष राकेश रौनियार, उपाध्यक्ष मनोज गुप्ता तथा रौनियार सेवा समितिका पूर्व अध्यक्ष एवं संरक्षक तथा निर्माण व्यवसायी संघका उपाध्यक्ष जयप्रकाश साहको उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    आमरण अनशनमा राजेन्द्र महतो र राजकिशोर यादवको ऐक्यबद्धता

    Read more

    देवानगञ्ज घटनामा घाइते रविन्द्र मेहताको मृत्युपछि पीडित परिवार आक्रोशित, शव नबुझ्ने घोषणा

    Read more