छठपछि देश ठप्प पार्ने दुर्गा प्रसाईँको चेतावनी

कार्तिक ४, काठमाडौ ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले छठ पर्व सकिएलगत्तै देशव्यापी आन्दोलन सुरु हुने घोषणा गरेका छन्। उनले मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममार्फत पत्रकार ऋषि धमलासँग कुरा गर्दै आगामी कात्तिक १५ गतेपछि नेपाल ठप्प पार्ने चेतावनी दिएका हुन्।

प्रसाईँले जनतालाई अग्रिम तयारीका रूपमा डिजेल, पेट्रोल र दैनिक उपभोग्य वस्तुहरूको जोहो गरेर राख्न आग्रह गरेका छन्। उनका अनुसार यो आन्दोलन तबसम्म जारी रहनेछ, जबसम्म “विद्यमान संविधान र व्यवस्था खारेज गरी वैद्धिक सनातन सिद्धान्तमा आधारित हिन्दु अधिराज्य स्थापना हुँदैन।” “अब हामीले छठपछि, कात्तिक १५ गतेदेखि आन्दोलनको नयाँ चरण सुरु गर्छौं। जबसम्म यो संविधान फ्याँक्दैनौं, यो व्यवस्था परिवर्तन गर्दैनौं — तबसम्म देश बन्द हुनेछ,” प्रसाईँले भने।

प्रसाईँले आफ्नो आन्दोलनलाई गरिब र शोषित वर्गको पक्षमा भएको दाबी पनि गरे। उनले सार्वजनिक गरेका एजेण्डामा २० लाखभन्दा कम ऋण भएका नागरिकको सम्पूर्ण ऋण मिनाह गर्नुपर्ने, बैंक र लघुवित्त संस्थाले लिलामी गरेका सम्पत्ति फिर्ता गर्नुपर्ने, र सरकारले ग्यारेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग रहेका छन्।

त्यस्तै, उनले शिक्षक र सरकारी कर्मचारीलाई न्यूनतम एक लाख रूपैयाँ मासिक तलब, भ्रष्टाचारको अन्त्य, र देशका सबै समुदाय — किरात, बौद्ध, वैदिक सनातन अनुयायी — लाई समेट्ने हिन्दु अधिराज्य स्थापना गर्ने माग पनि अघि सारेका छन्।

प्रसाईँको भनाइ अनुसार यो आन्दोलन “राजनीतिक होइन, धार्मिक र सामाजिक पुनर्जागरणको आन्दोलन” हो। उनले भने — “नेपालको आत्मा वैदिक सनातनमा छ, यो संविधानले त्यस आत्मालाई मार्ने काम गरेको छ। अब हामी मौन बस्दैनौं।”

राजधानीमा प्रसाईँका समर्थकहरूले हालसालै आयोजित भेलामा पनि हिन्दु अधिराज्य पुनःस्थापनाका नारा लगाएका थिए। प्रसाईँले त्यस अवसरमा “यो देशको अस्तित्व नै संकटमा परेको” भन्दै, नागरिकहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए।

सरकारले भने हालसम्म प्रसाईँको चेतावनीबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायहरूलाई सम्भावित आन्दोलन र बन्दका गतिविधिमा सतर्क रहन निर्देशन दिइएको बताइएको छ।

 

 

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more