चैत १३ मा बालेन शाहको शपथ तयारी, रास्वपामा मन्त्री छनोट तीव्र

१० चैत, काठमाडौ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीका रूपमा शपथ गराउने तयारी तीव्र पारेको छ।
यसका लागि पार्टी सभापति रवि लामिछाने र शाहबीच सम्भावित मन्त्रीहरूको सूची तयार पार्ने काम तीव्र रूपमा अघि बढिरहेको छ। दुवै नेताबीच निरन्तर छलफल चलिरहेको छ भने आवश्यकताअनुसार अन्य शीर्ष नेता तथा सम्भावित मन्त्रीहरूसँग पनि परामर्श भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल लगभग निश्चित जस्तै देखिएका छन्। यस्तै, सुनील लम्साल मन्त्री बन्ने पक्का भए पनि कुन मन्त्रालय दिने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। उनलाई भौतिक पूर्वाधार तथा यातायात वा गृह मन्त्रालयमध्ये कुन जिम्मेवारी दिने भन्नेमा नेताहरूबीच मतभेद रहेको बताइएको छ।
मन्त्रिपरिषद्मा कम्तीमा तीनदेखि चार जना महिला मन्त्री रहने सम्भावना रहेको छ। सोबिता गौतम र इन्दिरा राना लाई मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ भने गौतमलाई सभामुख बनाउने विकल्पबारे समेत आन्तरिक परामर्श जारी छ।
रास्वपाले मन्त्रिपरिषद्को आकार १५ देखि १८ मन्त्रालयमा सीमित गर्ने योजना बनाएको छ। आवश्यकता अनुसार एक मन्त्रीलाई दुई मन्त्रालयसम्मको जिम्मेवारी दिने विकल्पमाथि पनि छलफल भइरहेको छ। उपप्रधानमन्त्री राख्ने वा नराख्ने विषयमा भने अझै निर्णय भइसकेको छैन।
मन्त्री चयनमा व्यक्तित्व, पृष्ठभूमि, अनुभव र क्षमता मुख्य आधार बनाइने पार्टीले जनाएको छ। पार्टी प्रवक्ता मनिष झा ले प्रधानमन्त्रीसँगै सबै मन्त्रीले शपथ लिएर तत्काल काम सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिए।
यसैबीच, नयाँ सरकार गठनसँगै सुशासनमा जोड दिने र पुराना राजनीतिक नियुक्तिहरू हटाउने विषयमा पनि छलफल भइरहेको छ। रास्वपाले कार्यकर्ता भर्तीका लागि गरिएका नियुक्तिहरू खारेज गर्दै योग्यताका आधारमा मात्र नियुक्ति गर्ने नीति लिएको जनाएको छ।
सरकार गठनअघि नै संसदीय दलको नेता चयन गर्न रास्वपाले चैत १२ गते केन्द्रीय समिति बैठक बोलाएको छ। सोही बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत रहेकाले नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। पार्टीले आफ्ना चुनावी वाचा कार्यान्वयन गर्ने लक्ष्यसहित प्रारम्भिक तयारीहरू अघि बढाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more