पुस ३०, काठमाडौ । — भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका क्रममा उत्पन्न विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा निर्णायक बैठक बोलाएका छन्। अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत सहभागी हुन आमन्त्रण गरिएको छ।
सभापति देउवा निवास महाराजगञ्जमा संस्थापन पक्षधर नेता बालकृष्ण खाँण, रमेश लेखकलगायतका नेताहरू पुगिसकेको बताइएको छ। मंगलबार दिनभर विभिन्न चरणमा भएका वार्ताहरू निष्कर्षविहीन भएपछि शीर्ष नेतृत्वस्तरमै छलफल गरी निकास खोज्ने प्रयासस्वरूप बैठक बोलाइएको हो।
मंगलबार राति अबेरसम्म वार्ता भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको थियो। विशेष महाधिवेशन पक्षधर तथा वार्तामा सहभागी नेता गुरूराज घिमिरेले सहमति नजुटेपछि प्रतिक्रिया दिँदै भने, “बिहानसम्म चमत्कार भयो भने पार्टी एकता हुन्छ, नभए नेतृत्व छनोटको प्रक्रिया अघि बढ्छ।”
विशेष महाधिवेशनमा देखिएको मतभेदले पार्टीको भावी नेतृत्व र संगठनात्मक संरचनामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ। देउवा निवासमा बस्ने बैठकलाई कांग्रेसभित्रको जारी गतिरोध तोड्ने निर्णायक प्रयासका रूपमा हेरिएको छ।

















