३१ असार , काठमाडौ । — नेपाली कांग्रेसले सातै प्रदेश सरकारमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। प्रदेश सरकार सञ्चालनका क्रममा एमालेसँगको सम्बन्धमा असन्तुष्टि बढ्दै गएपछि कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने रणनीति अघि बढाएको स्रोतले जनाएको छ।
पार्टी स्रोतका अनुसार शीर्ष तहमा पटक–पटक भएको छलफलपछि प्रदेशस्तरको सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति जुट्न नसकेपछि सरकारबाट बाहिरिने निष्कर्षमा कांग्रेस पुगेको हो।
यसैबीच, बुधबार कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चारै जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। यता सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका छन्।
हाल कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार सञ्चालनमा छ भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेको छ। पछिल्ला राजनीतिक घटनाक्रमले अन्य प्रदेशमा पनि कांग्रेस–एमालेबीचको सत्ता साझेदारी अन्त्य हुने संकेत देखिएको छ।
कांग्रेसभित्र एमालेसँगको सहकार्य समाप्त भएपछि नयाँ राजनीतिक समीकरण निर्माणका लागि अन्य दलसँग संवाद अघि बढाउने वा सम्भावना नबने सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्ने विकल्पबारे समेत छलफल भइरहेको बताइएको छ।
प्रदेश सरकारको सत्ता समीकरणमा आउने सम्भावित परिवर्तनले सातै प्रदेशको राजनीतिक अंकगणित, सरकार गठन तथा शक्ति सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने अनुमान गरिएको छ।
















