कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भयो : सभापति गगन थापा

माघ २, काठमाडौ । — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट पार्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन्। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेको भन्दै उनले आयोगप्रति आभार व्यक्त गरेका छन्।
सभापति थापाले उक्त निर्णयलाई नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफलको रूपमा व्याख्या गरेका छन्। उनले पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले पार्टी चल्ने र निर्माण हुने कुरा स्थापित भएको दाबी गरे।
उनका अनुसार नेपाली कांग्रेस अब आफ्ना मूल जरा, मूल्य–मान्यता र आदर्शतर्फ फर्किएको छ। विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत वा असहमत सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै उनले यसलाई जय–पराजयको विषय नबनाउन अपील गरेका छन्।
सभापति थापाले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको बताए। आगामी निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए।
यस क्रममा उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास व्यक्त गरे। “आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,” उनले भने, “जिम्मेवारी फरक हुन सक्छ, तर भुइँतहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ।”
सभापति थापाले नेपाली कांग्रेसलाई सीमित नेताको होइन, आम जनताको सार्वजनिक पूँजीका रूपमा चित्रण गर्दै देशभित्र र बाहिर रहेका लाखौँ शुभेच्छुकहरूलाई रूपान्तरित कांग्रेसको यात्रामा साथ दिन आग्रह गरेका छन्। विशेष महाधिवेशनमार्फत विगतका कमजोरीको आत्मालोचना गर्दै उपलब्धिलाई थप संस्थागत गर्ने संकल्प गरिएको पनि उनले बताए।
उनले कांग्रेस अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको राजनीति अन्त्य हुने स्पष्ट पारे। संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसले लिने प्रतिबद्धता व्यक्त गर्दै थप साथ र विश्वासको अपेक्षा पनि गरे।
अन्त्यमा सभापति थापाले ऐतिहासिक क्षणमा सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका अग्रजप्रति सम्मान प्रकट गरे। साथै नवयुवा तथा आम नेपालीलाई समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन हार्दिक अपील गरे।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more