असोज १३, इटहरी । सवारी परीक्षण कार्यालय इटहरीमा सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा गर्ने र राजश्व हिनामिनासहितका अनियमिततामा मुछिएका प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई तत्काल जिम्मेवारीमुक्त गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दुबै जनालाई पदमुक्त गर्दै मन्त्रालयमा तानेका हुन्। मन्त्री घिसिङले घटनाको गम्भीरता औंल्याउँदै यसलाई आफ्नो “अनियमिततामाथि शून्य सहनशीलता” नीतिको भागका रूपमा अघि बढाइएको बताएका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन, कर्मचारी तथा सेवाग्राहीको बयान संकलन गर्न, कागजात अध्ययन गरी अनियमिततामा संलग्नहरुलाई कारबाही सिफारिस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
यातायात क्षेत्र लामो समयदेखि सेवाग्राहीमाथि चर्को घूसजाल र अनियमितताका घटनाले बदनाम हुँदै आएको छ। यसअघि पनि विभिन्न प्रदेशका सवारी कार्यालयमा हुने घूस, ढिलासुस्ती र मनपरीतामाथि प्रश्न उठ्दै आएको अवस्थामा मन्त्री घिसिङको यो कदमलाई कडाइका रूपमा लिइएको छ।यसरि प्रतिवेदन सार्वजनिक भएपछि थप कारबाही हुने मन्त्रालयले जनाएको छ।
















