१९ साउन , काठमाडौ । — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले माइतीघर मण्डलामा जारी राखेको आमरण अनशनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन्।
अनशनस्थलमा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महतो, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवसहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू पुगेका थिए। उनीहरूले अनशनरत विनय यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारलाई तत्काल वार्ताको पहल गरी समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
नेताहरूले आगन्तुक पुस्तिकामा आफ्नो धारणा पनि लेख्दै देवानगञ्ज घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनीहरूले पीडित पक्षले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने, अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने तथा संवादमार्फत छिटो निकास निकाल्नुपर्ने बताएका छन्।
सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलले यसअघि काठमाडौंमा प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। माग सम्बोधन नभएपछि अध्यक्ष विनय यादवले माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका थिए। अनशन जारी रहँदा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले अनशनस्थल पुगेर समर्थन जनाउने क्रम बढिरहेको छ।
राष्ट्रिय एकता दलले मृतकलाई शहीद घोषणा, घाइतेहरूको पूर्ण उपचार, सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग राख्दै आएको छ। साथै, दलले जिहादी गतिविधिविरुद्ध कडा कानुनी व्यवस्था, रोहिङ्ग्या तथा बङ्गाली शरणार्थीलाई देश निकाला, मुस्लिम आरक्षण खारेज र मुस्लिम आयोग विघटनलगायतका माग पनि अघि सारेको जनाएको छ।
यसअघि सरकारले पीडित परिवारसँग राहत, उपचार तथा अनुसन्धानका विषयमा केही प्रतिबद्धता जनाएको भए पनि आन्दोलनरत पक्षले ती प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन नभएको दाबी गरेको छ। औपचारिक वार्ता र बाँकी मागका विषयमा स्पष्ट निर्णय नभएसम्म आमरण अनशन जारी रहने राष्ट्रिय एकता दलले जनाएको छ।
समाचार तयार पार्दासम्म माइतीघर मण्डलामा आमरण अनशन शान्तिपूर्ण रूपमा जारी रहेको छ। अनशनस्थलमा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिती निरन्तर रहे पनि सरकार र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता सुरु भएको सार्वजनिक जानकारी प्राप्त भएको छैन।

















