आफ्ना लागि कहिल्यै काम गरिनँ” — प्रचण्डकी छोरी गंगा दाहालको सचिवालयबाट राजीनामा

पूर्वप्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट दिइन् राजीनामा, भनिन् — “आफ्ना लागि कहिल्यै काम गरिनँ, बुबा र आन्दोलनको हितका लागि पद छोडेँ”

कार्तिक ३,काठमाडौं। — नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संयोजक *पुष्पकमल दाहाल ‘प्रचण्ड’*की छोरी गंगा दाहालले आज बुबाको सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो वक्तव्यमा उनले आफूविरुद्ध पछिल्ला दिनमा सञ्चार माध्यममा आएका भ्रामक र निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सचिवालयको जिम्मेवारीबाट अलग हुने निर्णय गरेकी हुन्।

गंगाले लेखेकी छन् — “म, बुवा कमरेड प्रचण्डको सचिवालयमा भाइ प्रकाश दाहालको देहवसानपछि र मम्मी सीता दाहाल बिरामी भएको अवस्थामा जिम्मेवारी लिएर आएँ। मम्मीको हेरचाहसँगै भाइ प्रकाशले निभाउँदै आएको भूमिकामा रहँदै अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरूको सल्लाहमा म सचिवालयमा रहेँ र निस्वार्थ भावले पार्टी, आन्दोलन र बुवाको लागि काम गरेँ।”

उनले थपेकी छन् — “यो अवधिभर सवैको भावना अनुसार काम गर्न सकिन होला, त्यसका लागि आत्मआलोचना गर्छु। तर गर्वका साथ भन्छु — मैले कहिल्यै आफ्ना लागि सोचेर काम गरेकी छैन, सधैँ सहयोगीको भूमिकामा राम्रो गर्ने कोशिस गरेँ।”

गंगा दाहालले पछिल्ला दिनमा आफूमाथि सञ्चारमाध्यममार्फत भइरहेको चरित्रहत्या र भ्रम फैलाउने प्रवृत्तिप्रति तीव्र असन्तोष व्यक्त गरेकी छन्। उनका अनुसार,“कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरो नाममा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिन्छ, कहिले कति लाखको घडी। तर एक लाख पर्ने घडी वा ब्याग जिन्दगीमा कहिल्यै किनेकी छैन। ती साथीभाइले जन्मदिनमा दिएका उपहार थिए, सक्कली थिए कि नक्कली त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार भइरहेको छ।”

गंगाले स्पष्ट रूपमा भनिन् — “निरन्तर मलाई देखाएर बुबा र नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड तथा समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेका कारण यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुबा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेकी छु।”

साथै उनले स्पष्ट गरेकी छन् कि सचिवालयको जिम्मेवारी छोडेपनि आफू पार्टीप्रति प्रतिबद्ध रहनेछिन्।

“म पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्छु,” — उनले लेखेकी छन्।

भाइ प्रकाश दाहालको निधनपछि प्रचण्डको सचिवालयमा सक्रिय भएकी थिइन्। पार्टी र अध्यक्षबीच समन्वय, सन्देश व्यवस्थापन र जनसंपर्कमा उनी पछिल्ला वर्षहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिइन्।तर पछिल्लो समय उनको नाम लक्जरी ब्याग र घडीसम्बन्धी समाचारसँग जोडिएपछि उनी विवादमा तानिएकी थिइन्। माओवादी केन्द्रका नेताहरूका अनुसार, गंगाको यो राजीनामा पार्टी र नेतृत्वविरुद्ध भइरहेको नियोजित प्रचारप्रति एक प्रकारको नैतिक जवाफ पनि हो।

 

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more