असोज ११, काठमाडौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले हालको जेन–जी आन्दोलन शुद्धीकरणको रूपमा भए पनि दवाइएको बताएका छन् । उनले आगामी चरणमा हुने जेन–जी आन्दोलन ऐतिहासिक कोतपर्व र फ्रेन्च रिभोलुशनलाई समेत बिर्साउने खालको हुने चेतावनी दिए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै डा. दीक्षितले भने, “यसपाली आन्दोलन शुद्धीकरणको अभियान थियो । तर, यसलाई दवाइयो । अर्को चरणमा भने जेन–जी आन्दोलन सत्ता प्राप्तिको लक्ष्यसहित अगाडि बढ्नेछ, जहाँ नेताहरूमध्ये कोही पनि ज्यान जोगाउन सक्ने छैनन्।”
उनका अनुसार यसपालीको आन्दोलनमा केही नेताहरुले कुटाइ मात्र खाए, केहीले भागेर ज्यान जोगाए, तर अर्को आन्दोलनमा त्यस किसिमको अवसर पाउने अवस्था रहँदैन ।
डा. दीक्षितले थपे, “यदि जेन–जीले बिना घुसपैठ साँच्चिकै विद्रोह गरे भने यो विद्रोह कोतपर्वलाई समेत बिर्साउने खालको हुनेछ । अहिले त नेताहरुको ज्यान जोगियो, तर अर्को आन्दोलनमा भयंकर विद्रोह हुन्छ र त्यसबेला यिनीहरुको ज्यान बच्ने छैन।”
उनले हालको आन्दोलनलाई शुद्धीकरणको प्रयास भने पनि भविष्यमा सत्ता केन्द्रित र निर्णायक विद्रोह हुने विश्वास व्यक्त गरे । यसरि अबको आन्दोलन अझै गम्भीर र व्यापक हुने चेतावनी नागरिक समाजतर्फबाट आउनुले राजनीतिक वृत्तमा चासो बढाएको छ ।
















