२ साउन , काठमाडौ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने सम्भावना रहेको हो।
विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने जनाइएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर बदली रही अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।


















