जनकपुर फलफूल बजार खाली गराइँदै, व्यवसायी धर्नामा

१९ जेठ, जनकपुरधाम । जनकपुरधामको जिरोमाइल स्थित फलफूलमन्डीका व्यवसायीहरू धर्नामा बसेका छन् । समय नै नदिई जग्गावाला तथा प्रहरी प्रशासनले फलफूल (थोक व्यवसायी) लाई खाली गराउन लागेको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।

उनीहरु दुई दशकदेखि स्थानीय नवलकिशोर साहको आठ कठ्ठा जग्गा लिजमा लिएर फलफूल बजार लगाउँदै व्यवसाय गर्दै आएका थिए ।

तर पछिल्लो समय जग्गा खाली गराउने तथा भाडा सम्बन्धी विवाद हुँदा दुवै पक्ष जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समिति हुँदै धनुषा जिल्ला अदालतदेखि उच्च अदालत जनकपुर पुगेका थिए ।

उच्च अदालत जनकपुरले जग्गाधनीको पक्षमा फैसला गर्दै फलफूल बजार खाली गराउन गत बैशाखको पहिलो साता आदेश दिएको थियो । व्यवसायीहरूले अदालतको आदेशको सम्मान गर्दै बजार खाली गर्ने बताएका छन् ।

तर आँपको सिजन सुरु भएकाले अर्को ठाउँमा व्यवस्थित नभएसम्म दुई महिनाको समय दिन माग गरिरहेका छन् । फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले प्रहरी प्रशासनसमेतले जग्गाधनीको पक्षमा लागेर तत्काल खाली गराउन लाग्दा आफूहरू समस्यामा परेको गुनासो गरे ।

‘हामी अदालतको आदेशको सम्मान गर्दै खाली गर्छौं । तर अहिले आँपको सिजन सुरु भएको छ । दुई महिनापछि हामी आफैं यहाँबाट गइदिन्छौं’, उनले भने ‘राज्यका निकायहरूबाट व्यवसायीहरूका लागि कुनै वैकल्पिक व्यवस्था गरिएको छैन । प्रहरी प्रशासन डोजर प्रयोग गरी व्यवसायीहरूले निर्माण गरेका टहरा तथा संरचनाहरू भत्काउने प्रयास भएको छ । यसकारण व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।’

बजारको सुरक्षित व्यवस्थापन, उचित स्थानान्तरण तथा दीर्घकालीन प्रवर्द्धनका लागि आवश्यक पहल गरिदिन व्यवसायीहरुले आग्रह गरेका छन् ।

यसरी खाली गराउँदा २५० थोक व्यवसायीसहित करिब हजार फलफूल व्यवसायी बेरोजगार बन्ने उनीहरूको गुनासो छ ।

तर जग्गाधनी पक्षले भने प्रहरी प्रशासनको सहयोगमा तत्काल फलफूलमन्डी बजार खाली गराउने प्रक्रियामा छन् । १० वर्षदेखि भाडा नदिएको कारण तत्काल खाली गर्नुपर्ने जग्गाधनी नवलकिशोर साहले बताए ।

‘लामोसमयदेखि भाडा दिएको छैन । उल्टै व्यवसायीहरू अदालत गए । अब अदालतले नै तत्काल खाली गर्न फैसला गरेको छ । त्यो यथाशीघ्र कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

 

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more