मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष यादव पदमुक्त

१ जेठ, जनकपुरधाम। — मधेश प्रदेश सरकारले मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवलाई पदबाट हटाएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार यादवलाई कार्यवाहक अध्यक्षसहित बोर्ड सदस्य पदबाट समेत पदमुक्त गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार यादवले पदीय मर्यादा तथा कानुनी दायित्वविपरीत गतिविधि गरेको, प्रदेश सरकारविरुद्ध सक्रिय भूमिका खेलेको तथा काउन्सिल कार्यालयमा राखिएको बोर्डबाट ‘मधेश प्रदेश सरकार’ र ‘गृह, सञ्चार तथा कानुन मन्त्रालय’ उल्लेख हटाएको पाइएपछि कारबाही गरिएको हो।
केही साताअघि जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा यादवकै नेतृत्वमा तालाबन्दी गरिएको विषयमा मन्त्रालयमा गुनासो परेको थियो। त्यसपछि मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको जनाएको छ। साथै कार्यालयको बोर्डबाट मन्त्रालय र प्रदेश सरकारको नाम हटाइएको विषयमा पनि पटक–पटक स्पष्टीकरण सोधिएको मन्त्रालयको भनाइ छ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले चित्तबुझ्दो जवाफ प्राप्त नभएकाले यादवलाई पदमुक्त गरिएको बताए। उनका अनुसार यादवले पदीय जिम्मेवारीअनुसार व्यवहार नगरी प्रदेश सरकारविरुद्ध गतिविधिमा संलग्नता देखाएका थिए।
यससँगै मिडिया काउन्सिल मधेश प्रदेशमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका एक पदेन सदस्यसहित चार सदस्य रहेका छन्। यसअघि काउन्सिलका अध्यक्ष कमल उपाध्याय  अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दामा अभियोग लगाएपछि पदमुक्त भएका थिए। त्यसपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more