३१ बैशाख, मलङ्गवा, सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक निर्माणाधीन घरको छतबाट लडेर दुई जना मजदुरको ज्यान गएको छ । मलङ्गवा नगरपालिका वडा नं। १० निवासी रञ्जित यादवको निर्माणाधीन चारतले घरमा काम गर्ने क्रममा यो दुखद दुर्घटना भएको हो ।
घरको चौथो तलामाथि खानेपानीको ट्याङ्की राख्नका लागि ढलान गरिएको स्ल्याबमा इट्टा जोड्ने काम भइरहेको थियो । सोही क्रममा अचानक स्ल्याब भत्किएर तल खस्दा राजमिस्त्रीको काम गरिरहेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मलङ्गवा नगरपालिका–२ निवासी करिब ६० वर्षीय छठु साह र हरिपूर्वा नगरपालिका–२ निवासी ४२ वर्षीय राजकिशोर यादव रहेका छन ।
मजदुरहरूको आन्दोलन
यसैबीच, कार्यस्थलमा पर्याप्त सुरक्षा नभएको र मजदुरको ज्यान गएको भन्दै अन्य मजदुर साथीहरू आक्रोशित भएका छन् । आज मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मजदुरहरूले काम बन्द गरी आन्दोलन सुरु गरेका छन् । उनीहरूले श्रमको उचित सम्मान र जोखिमपूर्ण काममा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग समेत राखेका छन् ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । मृतकका परिवार र घरधनी बीच क्षतिपूर्तिका विषयमा छलफल भइरहेको बुझिएको छ ।















