३० बैशाख ,जनकपुरधाम । सस्मित पोखरेलले देशमा रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण योगदान रहेकाले निजी विद्यालय बन्द गर्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।
जनकपुरधाममा आज आयोजित संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफल कार्यक्रममा मन्त्री पोखरेलले आफूले पदभार ग्रहण नगर्दै निजी विद्यालय बन्द हुने हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले सरकारले निजी विद्यालयलाई “सहयोगी पार्टनर” का रूपमा हेर्ने गरेको बताउनुभयो ।
मन्त्री पोखरेलले कानूनले व्यवस्था गरेअनुसार संस्थागत विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा पारदर्शी ढंगले उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ऐन–कानूनको इमान्दारीपूर्वक पालना गर्न विद्यालय सञ्चालकहरूसँग आग्रह गर्नुभयो ।
उहाँले पाठ्यक्रममा एकरूपता ल्याउन व्यापक परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई समयअनुकूल बनाउन सरकार लागिपरेको बताउनुभयो ।
दुई दिनको सार्वजनिक बिदाबारे बोल्दै मन्त्री पोखरेलले कतिपय देशमा यसले विद्यार्थी तथा शिक्षकलाई अझ उत्पादनशील बनाएको अनुभव रहेको बताउनुभयो । उहाँले दुई दिने बिदाले पठन समयमा असर नपर्ने गरी ४५ दिनको वर्षे बिदालाई घटाएर ३० दिनमा झारिएको जानकारी दिनुभयो ।
संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायबाट प्रदान गरिने छात्रवृत्तिमा समान अवसर पाउनुपर्ने विषयमा निजी विद्यालय सञ्चालकहरूले ध्यानाकर्षण गराएका थिए । त्यसमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले चिकित्सा शिक्षा ऐनमा सरकारले व्यापक परिमार्जन गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा जनकपुर क्षेत्रका निजी विद्यालय सञ्चालकहरू, एनप्याब्सन, प्याब्सन तथा हिसानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मनिष झा, स्थानीय नेता जितेन्द्र महासेठलगायतको पनि उपस्थिति रहेको थियो ।


















