रास्वपाद्वारा सांसद प्रशिक्षण कार्यक्रम सुरु हुँदै

२६ बैशाख , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूका लागि “सक्षम सांसद, सशक्त संसद्” शीर्षकमा दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रम २०८३ वैशाख २६ र २७ गते ललितपुरको स्टाफ कलेज मा सञ्चालन हुनेछ।
कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ। संसद्लाई जनमुखी र प्रभावकारी बनाउन तथा सांसदहरूको कानुनी, नीतिगत र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।
पहिलो दिनको प्रशिक्षण सदन र सरकारबीचको सम्बन्ध, संसदीय प्रक्रिया तथा दलीय समन्वयमा केन्द्रित रहनेछ। पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धबारे महामन्त्री भूपदेव शाह ले प्रशिक्षण दिनेछन्। त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूको भूमिकाबारे संसदीय दलका उपनेता गणेश पराजुली ले प्रस्तुति दिनेछन् भने सचेतकको भूमिका र संसदीय अभ्याससम्बन्धी अनुभव सांसद निशा डाँगी ले साझा गर्ने कार्यक्रम छ।
दोस्रो दिनको सत्र राजनीतिक आचरण, कूटनीति तथा आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धिताल ले राजनीतिक मनोविज्ञान, व्यवहार तथा नैतिक आचरणका विषयमा प्रशिक्षण दिनेछिन्। यस्तै, परराष्ट्र मन्त्री शिशिर खनाल ले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादासम्बन्धी विषयमा धारणा राख्नेछन्।
सह–महामन्त्री विपिन कुमार आचार्य ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक आधार तथा पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले विशेष निर्देशनात्मक मन्तव्य दिनेछन्। उनले पार्टीको मूल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता तथा जनउत्तरदायी सांसदको भूमिकाबारे मार्गनिर्देशन गर्ने कार्यक्रम छ।
रास्वपाले उक्त प्रशिक्षणले आफ्ना सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका विषयमा सदनमा थप प्रभावकारी रूपमा प्रस्तुत हुन आवश्यक ज्ञान, सीप र ऊर्जा प्रदान गर्ने विश्वास लिएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more