२५ बैशाख , काठमाडौं । हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र प्रधानन्यायाधीश नियुक्तिप्रति घोर आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले शुक्रबार जारी गरेको वक्तव्यमा संसद् छल्दै राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको उल्लेख गरेका छन्। “गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,” वक्तव्यमा भनिएको छ।
वक्तव्यमा सरकारले वरियतामा चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाइएको छ। श्रम संस्कृति पार्टीले सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेका दलहरूले नै विधि मिच्ने काम गरिरहेको टिप्पणी गरेको छ।
पार्टीले उक्त नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थ प्रेरित हुन सक्ने आशंका पनि व्यक्त गरेको छ। सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘Gen Z आन्दोलन’ जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन उद्देश्यसहित नियुक्ति गरिएको हुन सक्ने दाबी वक्तव्यमा गरिएको छ।
त्यस्तै, नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको आरोप पनि पार्टीले लगाएको छ। साथै, आफ्नै दलबाट निर्वाचित उपसभामुखले समेत वरियताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै पार्टीले खेद व्यक्त गरेको छ।
“विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी सधैं विरोध गर्दछ,” वक्तव्यमा उल्लेख छ।
संवैधानिक परिषद् अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको आपत्ति
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 44 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 29 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 82 views



















