१ बैशाख २०८३ , जनकपुरधाम। अखण्डा आश्रम द्वारा सुरु गरिएको दैनिक अन्तर्गृह परिक्रमा कार्यक्रममा सहभागी हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको उक्त परिक्रमा अहिले स्थानीयसँगै बाह्य भक्तजनहरूका लागि समेत आकर्षणको केन्द्र बन्दै गएको छ।
आजको परिक्रमा कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह पनि सहभागी भएका थिए। सहभागिता जनाउँदै उनले यस किसिमको धार्मिक गतिविधिले जनकपुरधामको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
मेयर साहका अनुसार दैनिक अन्तर्गृह परिक्रमा जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्छ। “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै यहाँको धार्मिक, सांस्कृतिक धरोहरको प्रचार–प्रसारमा टेवा पुर्याउनेछ,” उनले भने।
अखण्ड आश्रमको पहलमा सुरु भएको यो कार्यक्रमले धार्मिक पर्यटनलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ भने स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने सम्भावना समेत देखिएको छ।



















