१४ चैत, काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङ ले कडा प्रतिक्रिया दिएका छन्। रातभरको अपरेसनपछि सार्वजनिक रूपमा बोल्दै उनले स्पष्ट पारे— “यो कुनै प्रतिशोध होइन, न्यायको सुरुवात हो।”
गृहमन्त्री गुरुङले पूर्वप्रधानमन्त्री ओलीसँगै रमेश लेखक लाई नियन्त्रणमा लिनु सरकारको कानुनी दायित्व भएको बताए। उनले देशमा विधिको शासन स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउँदै “कानुनभन्दा माथि कोही छैन” भन्ने सन्देश दिएका छन्।
उनका अनुसार वर्तमान सरकारले विगतजस्तो दबाब वा प्रभावमा काम नगर्ने र कसैलाई पनि उन्मुक्ति नदिने नीति लिएको छ। “अब भ्रष्टाचार गर्ने वा शक्तिको आडमा कानून मिच्ने जोसुकै भए पनि कारबाहीको दायरामा आउनेछन्,” उनले भने।
गृहमन्त्री गुरुङले भ्रष्टाचारको नामोनिशान मेटाउने घोषणा गर्दै यस अभियानलाई निरन्तर अघि बढाइने बताएका छन्। उनको भनाइमा, सरकारको यो कदमले देशलाई नयाँ दिशातर्फ लैजानेछ।
युवा गृहमन्त्रीको यो आक्रामक पहिलो कदमले राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। विश्लेषकहरूका अनुसार यसले शक्तिशाली नेताहरूलाई समेत कानुनी दायरामा ल्याउने संकेत दिएको छ भने आगामी दिनमा थप कडा कदमहरू देखिन सक्ने अनुमान गरिएको छ।



















