परोहा नगरपालिकामा विकासका उल्लेखनीय उपलब्धि, मेयर शेख वकिलको टोलीमाथि उठेका प्रश्नलाई चुनौती

१० चैत, रौतहट । प्रेमचन्द्र झा- परोहा नगरपालिकामा पछिल्ला वर्षहरूमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सामाजिक विकासका कामहरूले नगर नेतृत्वमाथि उठाइएका “असफलता”का आरोपलाई चुनौती दिएको छ। मेयर शेख वकिलको नेतृत्वमा सञ्चालित विकास योजनाहरूले नगरका अधिकांश वडामा ठोस परिवर्तन ल्याएको स्थानीयहरूको भनाइ छ।
नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत जिङगडवा–वेलविछवामा मात्र ६ वटा ट्रान्सफर्मर जडान गरिएको छ भने विद्यालयहरूमा तीन/तीन तले आधुनिक भवन निर्माण गरिएको छ। साथै, सबै सडकहरूमा विद्युत पोल विस्तार गरी उज्यालो नगर अभियानलाई गति दिइएको छ। प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना, बोरिङ जडान तथा जिङगडवा देखि नरकटिया बोर्डरसम्म १३ किलोमिटर कालोपत्रे सडक निर्माण पनि महत्वपूर्ण उपलब्धि मानिएको छ।
वडा नम्बर ३ मा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, माध्यमिक विद्यालय भवन र वडा कार्यालय निर्माण गरिएको छ। वडा नम्बर ४ मा सपिङ मल, प्रशासनिक भवन, वडा कार्यालय, परोहा अस्पताल तथा विदेशी शैलीका १० वटा स्टेट बोरिङ निर्माण गरिएका छन्।
त्यस्तै, वडा नम्बर ५ मा वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ भने वडा नम्बर ६ मा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण गरिएको छ। वडा नम्बर ७ र ८ मा नरकटिया आधारभूत स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर र स्वास्थ्य चौकी स्थापना गरिएको छ।
वडा नम्बर ९ मा पनि विद्यालय भवन र बर्थिङ सेन्टर निर्माण भइसकेको छ, जुन वर्तमान नेतृत्वकै कार्यकालमा सम्पन्न भएको दाबी गरिएको छ।
यी सम्पूर्ण विकास कार्यहरूलाई आधार मान्दै स्थानीय बासिन्दाहरूले नगर प्रमुख शेख वकिलको टोलीलाई “असफल” भन्नु यथार्थपरक नभएको बताएका छन्। उनीहरूका अनुसार नगरपालिकामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र सेवा सुविधामा देखिएको सुधारले नेतृत्वको प्रभावकारिता स्पष्ट रूपमा देखाउँछ।
स्थानीय तहमा विकासको यो गति कायम रहिरहेमा परोहा नगरपालिका निकट भविष्यमा उदाहरणीय नगरको रूपमा स्थापित हुने अपेक्षा गरिएको हो।यसैबीच, नगरबासीहरूले अझै केही क्षेत्रमा सुधारको आवश्यकता रहेको पनि औंल्याएका छन्। विशेषगरी रोजगारी सिर्जना, सरसफाइ व्यवस्थापन, खानेपानीको दीर्घकालीन समाधान तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने माग उठिरहेको छ।
विकासका थुप्रै पूर्वाधार निर्माण भए पनि तिनको दीगो व्यवस्थापन र गुणस्तर कायम राख्नु अबको मुख्य चुनौतीका रूपमा हेरिएको छ। साथै, केही स्थानमा योजनाहरू ढिलो सम्पन्न भएको वा पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो समेत आउने गरेको छ।
तर समग्रमा हेर्दा, परोहा नगरपालिकामा पछिल्ला वर्षहरूमा भएको भौतिक तथा सामाजिक विकासले स्थानीय तहको भूमिकालाई मजबुत बनाएको देखिन्छ। नगर नेतृत्वले अघि सारेका योजनाहरूले आधारभूत आवश्यकताहरू पूरा गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको विश्लेषकहरूको भनाइ छ।
आगामी दिनमा पारदर्शिता, जनसहभागिता र दीगो विकासमा केन्द्रित भएर काम गर्न सके, हालसम्मका उपलब्धिहरूलाई अझ सुदृढ बनाउँदै नगरपालिकालाई नमूना स्थानीय तहको रूपमा स्थापित गर्न सकिने नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र यादवले बताए ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more